Pages

Thursday, December 8, 2011

छेउँ न टुप्पो !!

हिमाल पहाड र तराईको भेषमा
प्रधान मन्त्रीले नै मन्त्रीको नाम नजान्ने देशमा
बन्द हुन्छ,
जहाँ कुखुरा मरेको केसमा
कसको हाँसो चोरेर ल्याउनु अब नेपालीको फेसमा ?


बिहानीको उषासंगै
पेटमा मुसा दौडिन थाल्छ,
हाम्रो भर्खर जन्मेको टुसा पनि कुपोषणले ग्रस्त भएर
दिसा गर्न नसकेर मृत्युलाई बोलाउन थाल्छ !!

बुद्ध जन्मेको भन्दै अब कति हाँसु
सगरमाथाको हिउँ पग्ले सरि बग्दछन आँशु,
भ्रष्ट देशका भोका नांगा हामी
बाँच्नु पर्ने छ,
एक दिन खाएर अब आफ्नै मासु !!


कसैले पजेरो र प्राडो फेरेर भ्याछैन
कसैले भने एक जोर चप्पल नि ला'छैन
बच्चै देखि गाएको राष्ट्रिय गान,
फेरिए पछी बुडा-पाकाले अहिले सम्म घोक्न पा'छैन !!

माग्ने हैन
देशलाई दिने हो रे
नेताहरुले चाँही सके जती लिने हो रे
हाम्ले,
न माग्न सकिन्छ न लिन नै
न त तिर्न सकिन्छ यो टाउका माथिको ऋण नै,
यसरी नै हाम्रो ढाड भाँची रहोस,
वरी-परी मृत्यु सधै नाची रहोस,
म मरे पनि मेरो देश बाँची रहोस ! बाँची रहोस !! बाँची रहोस !!

Wednesday, November 30, 2011

टुइटर साम्राज्य !!

                मेरो फेसबुकको सानो राज्य जती बेलादेखी टुइटर साम्राज्यको बिस्तारबादी नीतिको सिकार भयो, मैले उसकै राष्ट्रिय गान गाउन (टुइटिन) सुरु गरें | श्रीमतीको अनुहार जस्तो सधै एकैनास देखिने फेसबुकको स्टाटस माथि समयसंगै बदलिरहने टुइटरको टाइमलाइनले झ्याप्पै धावा बोले पछी केहि जोर चल्दो रहेनछ |
                यो साम्राज्य भित्र परे देखि नै मैले बडो आश्चर्यजनक रुपमा हाम्रा काकाबाको लोकप्रियता बढ्दै गएको देखेको छु | टाइमलाइनमा भए पनि काकाबा, नभए पनि मेंसेर काकाबालाई खोज्नेको कुनै कमि छैन यँहा | यति मात्रै कहाँ हो र, कतै हाम्रो मिटिंग भन्ने थाहा पाए भने टुइटर चलाउने गरेकाहरु बाटो हिड़दै छन् भने पनि "काकाबा भन्ने को हो ?" भन्दै खोज्दै आउन थाले | यसरि आफ्नो अप्रत्याशित रुपमा बढेको लोकप्रियता देखेर काकाले एक रात अकस्मात टुइटर साम्राज्य कब्जा गरे र आफ्नो निरङ्कुश शासन सुरु गरे |
                      राज्यमा निरङ्कुश शासन सुरु भए पछी धेरै कुरामा नियन्त्रण हुन थाल्यो | काका त पहिलेका ज्ञानेन्द्र सरह नै भए र आफुलाई चित्त नबुझेको कुरालाई तुरुन्त कारवाहीको आदेश दिन थाले | एक दिन मैले एकाबिहानै टाइमलाइनमा काकालाई नै मेन्सिएर नमस्कार नगरेको निहूँमा आफ्ना सैनिक पठाएर काकाले मलाइ पक्राउ गर्न लगाए र कालिमाटीको तरकारी बजारमा लगेर गोलि ठोक्ने आदेश दिए | तर उनका सल्लाहकारले "ब्राम्हण हत्याको दोष लाग्ला महाराज" भने पछी मलाइ ५० कोर्रा हानेर छोडियो | त्यस पछाडी प्रत्येक दिनको मेरो पहिलो टुइट काकाबालाई मेन्सन गरेको नमस्कार बाट मात्रै सुरु हुन थाल्यो | हाम्रो कुलेले काकाबालाई थाहा नदिइ ट्रलिबसमा छिरेको भेट्टाए पछी उसलाई पनि पक्राउ गरियो र सजाय स्वरूप नेपालमा भए जती स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय सबैखाले रक्सीहरु एउटा भाँडोमा मिसाएर सोली लगाएर खुवाइयो |
त्यस घटना पछी कुले ट्रलिबस पछाडी जान त के कुनै पनि बस, माइक्रो बसको पछाडी समेत हिड्न छोड्यो | त्यस्तै, हाम्रो माइला साउले सामानको धेरै ओसार-पसार गरेको थाहा पाएर उसलाई पनि पक्राउ गरियो र ३ दिन ३ रात सम्म सामानै सामानले भरिएको कोठामा थुनेर छोडियो | डरले गर्दा उसले त्यसपछि सामान त के सामानको "स" पनि उच्चारण गर्न बिर्सेछ | लत्र्याक-लुत्रुक भएको उसलाई लिन जाँदा मैले मेरो हात 'समात' भनेको त उसले 'स' चटक्कै बिर्सेर 'मात' भने झैं सुनेर मात्न थाल्ने भएछ बिचरा | राज्यको सरकारी निकायबाट आउने टुइट यस्ता हुन थाले-" फलानो मितिमा आजको दिन काकाले जुंगामा कालो मेहन्दी लगाएका", "फलानो मितिमा आजको दिन काकाले चश्माको शिसा फेरेका" आदि आदि |
                    काकाको अत्याचारको चरमसिमा बढ्दै गएपछि बिस्तारै सबै काकादेखि क्रुद्द हुँदै गए | फलस्वरूप, झुक्किएर हाच्छिउं गर्दा र दाहिने आँखा फरफरायो भन्दा समेत १-२ ओटा औषधिको नाम प्याट्ट भन्दिने हाम्रा डाक्टरहरुले काकाले सार्है पेट दुख्यो भन्दा समेत एउटो पोटि लसुन पोलेर खा सम्म नभनेर बिरोधको सुरुवात गरे | काकाको टुइटलाई पागल बस्तीले समेत आरटी हान्न छोडे | बिरोधको स्वरूप बढ्दै जाँदा अरबतिर बाट पाएको सहयोग समेत टुइटर साम्र्याज्यलाइ रोक्का गरियो | रक्सीका पारखीहरुले पनि बिरोध थाले | पोखराबाट भर्जिन (अचाल 'बियर' खान लाएर 'डियर' भ'का) को नेतृत्वमा फुल, हाफ र क्वाटर भर्जिनहरु बस भरि-भरि राजधानी आए | सधै बैराग लाग्ने गित लेख्ने मंजरिले समेत जोशिला र क्रान्तिकारी गित लेख्न थालिन |
              अन्तत: सर्वत्र बिरोधको चर्को लहर उर्लेको देखेपछी काकाले शासन-सत्ता छोडेर निर्मली निवासमा बस्ने निधो गरे | हामीले सर्वत्र खुशी मनाउन थालेका मात्र के थियौ पल्लो घरको राम्ररि हुन पनि नसकेको भाले बासे पछी म झसंग सपनाबाट ब्युझें | ओहो! कस्तो सपना देखेंछु ? यस्तो सपना देखेको राम्रो हो कि होइन, कसैले भनिदिनु हुन्छ कि ??

Tuesday, November 1, 2011

पुजारीका महावाणीहरु !!


  • कहिल्यै नअघाउने भोका आत्माहरु, यमराजले तातो तेलको कराइमा राख्दा समेत त्यहीं तेल नै खाइदिन्छन र बाँकी बचेको तेल समेत कपालमा दलेर हिंडछन् !
  • टिल्ल दारु खाएर टिक-टिक भएकाहरु, "तपाइंले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ" भन्दा समेत रिडायल गरि-गरि उल्टै त्यै केटीलाई गफ हान्दै हुन्छन !
  • बरु बाउको सराद्दे गर्न छोड्लान, तर नेपालीहरुले डीभी भर्न छोड्दैनन !
  • गुगलले समेत खोज्न नसकेकाहरुलाई अमेरिकी सेनाले खोजि-खोजि मार्दिन्छ !
  • "लंकामा सुन छ कान मेरो बुच्चै" रे, तिम्रा बाउले पुल हाल्दिएका थिए र कान भरि गहना ढल्काउन ? बिचरा बाँदरहरुले बरु तेत्रो दु:ख गरेर पुल हालेर समेत अहिलेसम्म एउटा पनि गहना ला'छैनन्, केहि सिक तिनिहरुसंग !
  • "शिक्षाको उज्यालो घामबाट हाम्रा कुनै पनि बाल बालिका वन्चित हुन नपरोस" भन्याथे कता हो ? त्यहि सुने देखि होला बाल बालिकाहरुले पढ्न थाल्यो कि हाम्रो प्राधिकरणले बत्ति काट्दिन्छ !
  • मान्छे मरे भने स्वर्ग जान्छन, राक्षस मरे भने धर्तीमा आएर नेपालका सभासद बन्छन !
  • वाइने रुनी, जति मुख धोए नि कहिल्यै सफा नहुनी !
  • धन्न न्युटनका टाउकाँ स्याउ खसेछ, १५ किलाको ढुङ्गो खस्या'भा कुकुरको पुच्छर तल्तिर नुघ्नी, हाम्ले मुतेको मास्तिर जानी हुन्थ्यो होला कि ?
  • एक जोर एडीडास जुत्ता किन्न नसकेर दाउराको चप्पल बनाएर लाउने रामलाई छोडेरै सिता "हरण" को नाटक बनाएर सुनै-सुनका गहना लाउन लंकातिर लागेकी हुन् कि जस्तो लाग्छ, यदि कसैले सक्छ भने छानबिन समिति गठन गरेर यसको सत्य-तथ्य बाहिर ल्याओस !
  • "सुकेको जिउमा लुकेको बल हुन्छ' भन्छन, त्यो बल भनेको हट्टा-कट्टा बलियो खाले बल हो कि भकुण्डो खाले बल हो मैले अझै पत्तो पाउन सक्याछैन !
  • पोकामा पाइने साँच्चै दुध हो कि होइन ? साँच्चै दुध भा'को भा सुरुको ३-४ दिन पनि किन बेउती खान पाइन्न ?
  • हुन त राजेश दाइ मर्दैनन होला, यदि मरिहाले भनि काँ लएर कसरि पोल्नी होला त्यो फलामलाई ?
  • प्रविधिको मुख्य चुनौती भनेको ऋषि धमलालाई ब्लक हान्न सक्ने क्यामराको बिकास गर्नु हो !
  • ट्युब-लेस टायर बजारमा आइसकेको अवस्थामा अबको युग भनेको मोजा-लेस जुत्ताको बिकास गर्नु हो !
  • खानु अघि साबुन पानीले हात धोऔं, खाइसकेपछी सिधै गोजाँ हात राखेर हिंडे हुन्छ !

Friday, October 14, 2011

अनुभव

दशैं सकेर बटौलीबाट काठमान्डू आउँदा कनी-कनी एउटा माइक्रो बसको लास्टाँ सिट पाइयो, त्याँ पनि दाँया तिर पण्डितनी बसिन, बाँया तिर अपरिचित सोल्टिनी परिन | बाटाँ घरि-घरि निदाउन खोज्दा बाँया तिरै ढल्किनी रैचु म फेरी, पण्डितनीले उठाउदै आफूतिर तान्दै गर्नी, "उता किन घोप्टिन परो" भन्छिन, आफुलाई भनि जानी-जानी उतै ढल्किन मन लाइरा'थ्यो तर पनि "हैन के, निंदको सुरमा झुक्किएछु" भन्नै परो | शायद यस्तो अवस्थामा मेरो ठाउँमा अरु जो कोहि भए पनि बाँया तिरै त ढल्किदा हुन् नी | न्युटनका टाउकाँ स्याउ खस्नी र तेस्तो अवस्थामा बाँया तिर ढल्किनी उस्तै-उस्तै सिद्दान्त हुन् कि जस्तो पो लाओ मलाइ त |  
बाटाँ सोल्टिनीले लेज, कुरकुरे झिक्नी, एता पण्डितनिले भने दशैंका सेलरोटा झिकेर "लौ खानुस" भन्नि गर्थिन, आफ्नो मन सेलरोटामा पटक्कै थिएन तर पनि बल्ल-बल्ल एउटो भा'नी चबाएरै छोडियो | धेरै बेर पछी त मेरा दाँया-बाँया काँधमा पण्डितनी र सोल्टिनी मस्त निदाएछन्, मलाइ भने दाँया काँधमा ढुङ्गो बोके झैं गह्रुङ्गो भा'थ्यो, बाँया काँधमा सार्है आनन्द | मलाइ मात्रै यस्तो अनुभव भा'हो कि अरुलाई पनि यस्तो हुन्छ हँ ??

Wednesday, September 28, 2011

पुजारी आग्रह

एसो फोन गर्न खोज्यो कि " तपाईंको ब्यालेन्स रकम कम भैसकेको छ, कृपया रिचार्ज गर्नुहोला " भन्ने, अनि घरि-घरि म्यासेज पठाएर "छिटो रिचार्ज गर, छिटो रिचार्ज गर " भन्ने मैया,  सधै भरि कति श्रीमतीले झैं एउटा मात्र कुरामा कच-कच गरिरहने हो, कहिले काँही त एसो माया पिरेमका कुरा गरे पनि हुने हो | फोनमा भन्न अफ्ठारो लाग्छ भने बरु भेटेरै भने पनि हुन्छ | त्यसैले, अब आउने शनिबार दिनको ठिक १ बजे १४१४ लेखेको टिशट लगाएर भद्रकाली मन्दिरमा भेट्न आग्रह गर्दछु !


-उही तिम्रो : *411*..............#

पुजारी साहित्य

जिन्दगीको पुरा यात्रा संग-संगै गरौंला भनि
घुम्ती अनि पुलहरू संग-संगै तरौंला भनि

जिबनको इन्स्युरेन्सका कयौं किस्ता संगै तिर्यौं
खाना खान पर्खी-पर्खी एकै होटल संगै छिर्यौँ

स्लिप खाइ तान्न खोज्दा अरु सबै पछी हटे
बिग्रिएर बास बस्दा केहि रात संगै कटे

कृष्ण भीरको पहिरोले छुटाउन नसकेको हाम्रो जोडी थियो
सरकारको जोर-बिजोरले कहिल्यै नभेटिने गरि छुटाई दियो !!!

Monday, August 1, 2011

टुइटर हाइवे

                   यदि यो टुइटर साँच्चै एउटा राजमार्ग हुने हो भने कस्तो हुन्थ्यो होला ? यहीं कल्पनासंगै आउनुस तपाईं हामि एकैछिन यसको यात्रामा निस्कने जमर्को गरौँ | कृपया, आफ्नै सवारीसाधन हुनेले आफ्नै गाडी चलाउनु होला र नहुनेले सार्वजनिक यातायात समाउनु होला | अब राजमार्गमा निस्कि सकेपछी हाम्रा टुइटर हेन्डल पनि ४ अंक भित्रका हुने भए | जस्तै: कोइ १२७२, कोइ ८४१५ आदि-आदि | टुइटेको संख्या बढ्दै जाँदा यो पनि अन्चलीकरण हुने भयो, जस्तै: बा. अ. टु. १२७२, ना. अ. टु. ८४१५ आदि-आदि | 
                कहिले काँहि टुँडिखेलमा ( पार्किंगको समस्याले भृकुटी मण्डपबाट सारिने होला ) बोलाइने टिएफसिको मिटिंगमा भेला हुन आउने क्रममा १४४५ (आचार्य) आफ्नो अफिसबाट निस्केर बल्खु, कालिमाटी हुदै टेकु पुल नजिक पुग्दा ३५७० (काका) लाइ ओभरटेक गर्नेछन् र टुडिखेलमा उपस्थित साथीहरुलाई गर्व साथ् भन्ने छन् - ३५७० लाइ टेकुमा ओभरटेक हानेर आको | लगभग ७ नबजी अफिसबाट निस्कन नपाउने ४६१५ (कुल्रिम) खै त भनेर सोध्धा उपस्थित एउटाले फ्याट्ट जवाफ दिहाल्नेछ - ४६१५ त ग्यारेजमै थन्केर बस्याछ न्युरोडमा | त्यस्तै १५२२ (लुरे दाइ) ले " आज अफिस र घर दुइ पटक ओहोर-दोहर गरियो," भनेर टुइटिने बित्तिकै  प्याट्ट आर्कोले रिप्लाई हानिहाल्नेछ " १५२२ ले कारेस्वोर- कान्तिपुर दुइ टिप् हानेछ " | 
               हाइवेमा गाडीको चाप बढेको देखेपछी हाम्रा के.पी. गुरुले 'मोबाइल रिपेयर सेन्टर' बन्द गरेर 'अटोमोबाइल रिपेयर सेन्टर' हेन्डल राख्दै हाइवेको एक छेउमा सटर लिहाल्नेछन | अर्का मित्र नेपाल डायरीले फर्निचरमा आगो सल्काएर  ' स्यार्सेकाली आयल स्टोर ' हेन्डल राखेर नौबिसे मुन्तिर तेल बेच्न थाल्नेछन भने माइला साउले आफ्नी हराएकी माइलीलाई गुगल हर्न बजाएर भए पनि खोजि छाड्ने छन् र मुग्लिन ओल्तिर एउटा होटल खोलिदिने छन् | त्यस्तै, हाम्रा खुराफातिले 'सुपर अग्नि' हेन्डल राखेर 'धरान-काठमान्डू' रात्रि बस सेवा संचालन गर्नेछन | त्यसै गरि कतिले त अझ 'त्रिशुली' हेन्डल राखेर टुइटर हाइवेको मुन्तिर बगिरहने पनि होलान |
       सायद सबैका पछाडी एक-दुइटा सायरी पनि झुंडिएका हुनेछन | हाम्री बसंति त्यो बेला पनि कुनै रुखको छहारी मुनि गाडी पार्किंग गरेर सुतिरहेकी हुनेछिन | मन्जरी पनि त्यो बेला सम्मै हाइवेको एक छेउमा टुक्रुक्क बसेर ' तुम कब् आओगे' भन्दै कसैको प्रतिक्षामै हुनेछिन | 'माया नमार, फर्की आउनेछु, ए राता मकै' लेखे जस्तै सुस्मितेको गाडीमा "ह्या कस्तो अल्छी लाग्यो " लेखिएको हुनेछ |
       ट्राफिक बढ्दै गएपछि कोइ-कोइ "सिताराम" हेन्डल राखेर  पनि आउलान अनि हाइ स्पिडमा टुइट गर्नेलाई समाउलान, बग्गीखानामा मेन्सन गरिदेलान | लाइसन लिन ३०० लाग्नेछ, जसमा फाइन २०० र डोनेसन १०० हुनेछ जुन बग्गीखानाबाट सोझै टी.एफ.सी. नेपालको खातामा जम्मा हुनेछ |
        सबैले आशा गरौँ कि यो टुइटर हाइवे नबनोस, सधै भरि हाम्रो साझा चौतारी नै रही रहोस |
र, अन्त्यमा, यो यात्रालाई रोचक बनाउन मेंसियिनु भएका साथीहरु बाट क्षमाप्रार्थी छु |      


  यसबाट केवल रमाइलो मात्रै लिइदिनुहोला, गम्भीरता पुर्वक लिन शक्त मनाही छ |